नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ गतेलाई जनक्रान्ति दिवसको रुपमा मनाउन प्रस्ताव गरेका छन् ।
‘जनयुद्ध दिवस’ का विषयमा जारी बादविवादबीच फेसबुकमा स्टाटस लेख्दै डा. भट्टराईले आफ्नो मत अघि सारेका हुन् ।
उनले आजको दिन नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) सुरु भएको तथा संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न थालिएको बताएका छन् । शब्दमा जुंगाको लडाई छाड्नुपर्ने उनको सुझाव छ ।
‘फागुन १ गते । नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन । संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, वेपत्ताजन, घाइतेरअपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान’ उनले भनेका छन् । शब्दको जुंगाको लडाइँ छोडौं । फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक बर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं ।’
उनले अगाडि लेखेका छन्, ‘१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेस विद्रोह, थारु विद्रोह, आदिवासी जनजाति आन्दोलनलगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौँ ।’