प्रहरी कुटेको आरोप लागेका जोशीलाई सात दिन हिरासत

Image

 नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशीलाई सात दिन हिरासतमा राखेर अनुन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

अभद्र व्यवहारअन्तर्गतको कसुरमा उनलाई आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको थियो । विद्यार्थी नेता जोशीसहितको ग्याङ्गले गत माघ २४ गते ठमेलमा ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गरेको थियो ।

प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण गरेका थिए । मध्यरातमा मदिराले लठ्ठिएर होहल्ला गर्दै आएका उनीहरुलाई प्रहरीले सम्झाउन खोज्दा आक्रमण गरेको बताईएको छ ।

अनेरास्ववियूका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो ।

घटनापछि फरार रहेका आरोपित जोशी हिजो (बिहीबार) साँझ बानेश्वरबाट पक्राउ परेका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा यसअघि अनेरास्ववियुका २ जना नेता पक्राउ परिसकेका छन् ।