प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठक संघीय संसद सचिवालयले जनाएको छ ।प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ ।
सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन् । आजको बैठकमा अरू तीन कार्यसूची पनि छन् । सुरूमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउनेछन् ।
त्यसपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजकै बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले ल्याएका अध्यादेश स्विकृतका लागि निर्णयार्थ प्रस्तुत गर्ने विषय आजको बैठकको कार्यसूचीमा पनि चढेको छैन।