काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा छन् । उनको गएराति ११:४५ बजे मृत्यु भएको एसपी बोहोराले जानकारी दिए । योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी-७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।
घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।
माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो । उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।
शान्दार म:म पसलमा ग्यास विस्फोटबाट घाइते भएका दुई जनाको मृत्यु
काठमाडौँको कमलपोखरीको शानदार म:म पसलमा आगलागी हुँदा ११ जना घाइते