नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण निर्माण गर्न नहुने बताएका हुन् । प्रतिनिधि सभाका सदस्य ज्ञानबहादुर शाहीको अभिव्यक्तिलाई लिएर हिजो राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो । सांसद शाहीले राष्ट्रिय सभालाई बृद्धाश्रामको संज्ञा दिएका थिए ।
‘प्रतिनिधि सभाका एक जना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैंमा दुःखद् हो । हामी यसबाट पाठ सिकौं, कसै व्यक्तिलाई दोस नदिउँ । दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने काम नगरौं,’– उनले भने ।