भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका-९ का गंगा शर्मा, गणेश खनाल र दिपा खनाल रहेको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिएका छन् । एसपी राठौरका अनुसार मृत्यु हुने गणेश र दिपा श्रीमान-श्रीमती हुन् ।
घाइतेहरूको आजमगढस्थित स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि महाराजगञ्ज जिल्ला अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको जानकारी आएको सेनले बताए। गाडी चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।