बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेल डिस्चार्ज, प्रेसर बढेपछि मेयर अस्पतालमै

Image

गत शनिबार पोखरामा भएको कार्यक्रममा सहभागी हुँदा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आज डिस्चार्ज भएका छन् ।

अस्पतालका निर्देशक किरण किशोर नकर्मीका अनुसार पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आज डिस्चार्ज गरिएको हो ।

‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।’

यता यसअघि देखिनै उच्च रक्तचापको समस्यामा रहेका मेयर आचार्य भने केही दिन अस्पतालमा नै रहने भएका छन् ।

‘मेयर धनराज आचार्यज्यूको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराईन्छ । साथै, मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ’ कीर्तिपुर अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् ।