गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीटारमा जेसिबीले पल्टाएको ढुंगाले लागेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
स्थानीय ज्ञानबहादुर कुमालकी छोरी विष्णुको लु१क ४३८६ नम्बरको जेसिबीले पल्टाएको ढुंगाले लागेर मृत्यु भएको हो । गम्भीर घाइते बालिकालाई तम्घासस्थित गुल्मी अस्पतालमा लगिए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए ।
बालिका आइतबार बिहान स्कुल जानको लागि घरबाट हिँडेको ५ मिनेटमा ढुंगा लागेर घाइते भएकी थिइन् । उनी पालुखा माध्यमिक विद्यालयमा युकेजीमा पढ्थिन् । स्कुल पुग्न करिब १५ मिनेट समय लाग्थ्यो ।
जेसिबी चालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।