अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ : सूर्य थापा

Image

नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकका प्रावधान संकुचित नरहेको दाबी गरे। 

मुलुकको आर्थिक समृद्धि र सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको उनले बताए। सरकारले ल्याएको अध्यादेशप्रति सरोकारवाला निकाय खुसी देखिए पनि केही सांसदमा खुसी नदेखिएको उनले जिकिर गरे। 

मुलुकको हितमा ल्याइएको अध्यादेशको विरोध गर्नु बेकार रहेको उनको भनाइ छ। थापाले संसद् नचलेका बेला अध्यादेशबाटै कानुन निर्माण गर्नुपर्ने भन्दै अहिले अध्यादेशको विरोध गर्नेहरू भोलि सरकारमा जाँदा यसरी नै अध्यादेश ल्याउने जिकिर गरे। 

त्यस्तै, उनले सहकारी ठगी प्रकरणमा प्रतिपक्षले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसअघि आफू सरकारमा रहँदा भएका कामको स्मरण गर्न माओवादीलाई सुझाव दिए। 

थापाले भारतको ओडिसास्थित एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति छानबिन हुनुपर्ने माग गरे।