अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालयमा फर्केपछि जारी गरिएका कार्यकारी आदेशको कार्यान्वयनमा डलर अर्बपति एलन मस्कको उत्साहको प्रशंसा गरेका छन् । उनले मस्कलाई आफ्नो प्रमुख कार्यान्वयनकर्ताका रूपमा चित्रित गरे ।
फक्स न्युजमा प्रसारण गरिएको संयुक्त अन्तर्वार्तामा यी दुई व्यक्तिले एकआपसको प्रशंसा गरे। ट्रम्पले पछिल्लो तीन हप्तामा दर्जनौँ कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् । तीमध्ये धेरै संविधानविपरीत हुनसक्ने भनेर अदालतमा उजुरी परेको छ ।
सन् २०२४ को राष्ट्रपतिको चुनावी अभियानमा ट्रम्पका शीर्ष दाता रहेका मस्कलाई संघीय खर्चमा ‘फजुल खर्च, धोखाधडी र दुरुपयोग’ उन्मूलन गर्ने घोषित लक्ष्यका साथ नवनिर्मित सरकारी दक्षता विभाग (डिओजिई)को नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।
‘डिओजिईको सबैभन्दा ठूलो काम भनेको राष्ट्रपतिको कार्यकारी आदेश कार्यान्वयन गर्न सुनिश्चित गर्नु हो,’ मस्कले फक्स न्युजसँग भने ।
अन्तर्वार्तामा ट्रम्पले आफ्ना नीतिहरू कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । मस्क तिनलाई अगाडि बढाउनमा महत्त्वपूर्ण रहेको बताए ।
राष्ट्रपति एलन ?
ट्रम्प प्रशासनमा मस्कको प्रमुख भूमिकाले ह्वाइट हाउसमा वास्तवमा कसको नियन्त्रण छ ? भन्ने सार्वजनिक प्रश्न उठेको छ । यद्यपि, रिपब्लिकन राष्ट्रपतिले दुई जनाबीच खराब सम्बन्धको अफवाहलाई तुरुन्तै खारेज गरेका थिए ।
‘वास्तवमा एलनले मलाई फोन गर्नुभयो, उनले भने, ‘तपाईंलाई थाहा छ, तिनीहरूले हामीलाई अलग गर्ने प्रयास गरिरहेका छन्,’ ट्रम्पले भने, ‘मैले भनेँ, बिल्कुल ।’
ट्रम्पले आफू र मस्कबीचको सम्बन्ध बिगार्ने प्रयासबाट अमेरिकी मूर्ख नबन्ने विश्वास व्यक्त गरे ।