हमासले गाजामा मृत्यु भएका चार जना इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इजरायललाई हस्तान्तरण गरेको हो ।
टाइम्स अफ इजरायलका अनुसार सन् २०२३ को अक्टोबर ७ मा इजरायलबाट बन्धक बनाएर हमासले गजा पुर्याएका ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको मृत्यु भएको थियो ।
केफिर हमासले बन्धक बनाएर गजा पुर्याउँदा ९ महिनाका मात्रै थिए । उनीहरू सबैभन्दा कम उमेरका बन्धक भएकाले केफिर र एरियल इजरायलभरि परिचित छन् । उनीहरूको मृत्यु भएको र शव हस्तान्तरण गर्न लागिएको भन्ने खबरले पूरै इजरायल स्तब्ध भएको टाइम्स अफ इसराइको समाचारमा उल्लेख छ ।
यी शवहरू तेल अवीवस्थित अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा फरेन्सिक परीक्षणका लागि पठाइनेछ ।
शव हस्तान्तरणपछि इजरायली राष्ट्रपति इसाक हर्जोगले देशभरका मानिसहरूको मन टुक्रिएको बताएका छन् । उनले सरकारको तर्फबाट क्षमायाचनासमेत गर्दै सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अक्टोबर ७ मा अपहरण गरिएका मानिसहरूलाई जोगाउन नसक्नु हाम्रो असफलता हो ।’
हमासले नोभेम्बर २०२३ मा बिबास परिवारकी आमा शिरी बिबास र उनका दुई छोरा इजरायली हवाई हमलामा मारिएको दाबी गरेको थियो । तर, यसबारे कुनै प्रमाण प्रस्तुत गरिएको थिएन । इजरायलले पनि उनीहरूको मृत्युको पुष्टि गरेको थिएन ।
शिरी बिबासका श्रीमान् यार्डेन बिबास यसै महिना हमासको बन्दी जीवनबाट मुक्त भएका थिए । उनलाई ४ सय ८४ दिनपछि रिहा गरिएको थियो । उनी जनवरी २०२५ को युद्धविराम सम्झौताअन्तर्गत जीवित मुक्त गरिएका १९ इजरायली बन्धकमध्ये एक हुन् ।