हमासले इजरायललाई एउटाको भनेर हस्तान्तरण गरेको शव अर्कैको रहेको खुलेको छ । बिहीबार हमासले चार इजरायली बन्धकको शव हस्तान्तरण गरेको थियो । ३२ वर्षीय शिरी बिबस, उनकी चार वर्षकी छोरी एरियल र १० महिनाका छोरा केफिरसँगै ८४ वर्षका ओडेड लिफसिथको भनेर हमासले चार जनाको शव हस्तान्तरण गरेको थियो ।
तर फरेन्सिक चेकजाँचका क्रममा शिरीको भनिएको शव उनको नरहेको खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । शव हस्तान्तरणपछि इजरायलले चार वटै शवको फरेन्सिक जाँच गरेको थियो । तीमध्ये तीन शवहरू जसको भनिएको हो उसैको रहेको तर दुई बच्चाकी आमा भनेर हस्तान्तरण गरिएको शव उनको नरहेको पाइएको इजरायली अखबार टाइम्स अफ इसराइलले जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यमा सिएनएनले पनि त्यो शव शिरिको नभएको भनेर इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । इजरायलले शिरीको भनेर पहिचान नखुलेको शव पठाएको भनेर आपत्ति जनाएको छ । उनीहरूले शिरीको शव तत्काल पठाउन पनि चेतावनी दिएका छन् ।
बिहीबार चारै शवको डिएनए परीक्षण गरिएको थियो । एक्सपर्टहरूले शिरीको भनिएको शव उनको नभएको बताएपछि आइडिएफले विज्ञप्ति जारी गरेर शिरीको शव फिर्ता गर्न भनेको हो । शव बाँकी रहेका इजरायली बन्धकमध्ये कसैको पनि नभएको आइडिएफले जनाएको छ । हमासले शिरीको भनेर पहिचान नै नभएको शव पठाएको आइडिएफले बताएको छ ।
संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डेननले हमासको बर्बरतापूर्ण कदमलाई राष्ट्रसंघमा रहेका सबै मुलुकहरूले निन्दा व्यक्त गर्नुपर्ने बताए । साथै त्यसो गरेर हमासले युद्धविरामको सम्झौता उल्लंघन गरेको पनि बताए । उनले तत्काल शिरीको शव फिर्ता गर्न पनि चेतावनी दिएका छन् ।