नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो दाबी गरेका हुन् ।
‘ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ,’ कोइरालाले भने । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताए । मानव अधिकारका कुरा नबुझ्नेहरु कांग्रेसी नहुने उनको तर्क छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समयअघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताए ।
उनले सुरक्षा चुनौती भए किन चितवन लगेको ? भन्दै प्रश्न गरे। उनले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गरे।
‘काँग्रेसीहरूले जबसम्म मानव अधिकारका कुराहरू बुझ्दैनौँ तबसम्म हामी कांग्रेसी हुँदैनौँ’, उनले भने, ‘तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा । र पुलिसले, गृह मन्त्रालयले यो भन्नेकी हामी प्रोटेक्शन लिन सक्दैनौँ । किन लगेको थियो त ?’