चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि भेटिएको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
शव रोहितकै भएको भनेर रोहितका बुवा अशोक रानासहति परिवारका सदस्यले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।
फागुन २ गते बिहान ११:३० बजेतिर लमजुङको सुन्दबजार गाउँपालिका-३ चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षका रोहित राना नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ चट्टानेभीरमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए ।
नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाईकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा बेपत्ता भएका हुन् । राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै थियो ।
सडकको छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा राना उछिट्टिएर त्रिशूली नदीमा पुगेका हुन् । भारतीय सेनामा कार्यरत राना गोर्खाली राइफल म्यान हुन् भने उनी ददुर्घटना हुनु भन्दा एक साता अघि मात्रै नेपाल आएका थिए ।
दुर्घटनास्थलमा फेला पर्यो भारतीय सेनाको परिचय पत्र, युवक त्रिशूलीमा बेपत्ता