कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत मृत्यु प्रकरणमा सशस्त्रकै अर्का इन्स्पेक्टर विवेक जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले इन्स्पेक्टर विवेकविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो ।
सोबमोजिम अनुसन्धानका लागि २३ नं।गण तनहुँमा कार्यरत इन्स्पेक्टर जोशीलाई सोमबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी वसन्त शर्माले जानकारी दिए । ‘अहिले उनी कास्की प्रहरीको नियन्त्रणमा छन्’, डीएसपी शर्माले भने ।
परिवारले दिएको जाहेरीमा सन्तोषीसँग जोशीको प्रेम सम्बन्ध रहेको र उनकै कारण सन्तोषी आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरिएको छ । उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ ।
इन्स्पेक्टर जोशी महतभन्दा एक ब्याच सिनियर हुन् । इन्स्पेक्टर सन्तोषी कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी थिइन् ।
ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटनामा परिवारले दियो आत्महत्या दुरुत्साहनको जाहेरी