सोमबारबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको तराई-मधेश जागरण कार्यक्रममा रिसाएका वरिष्ठ उापध्यक्ष नारायणकाजी श्रेष्ठ अभियान छाडेर चितवन पुगेका छन् । सोमबारबाट सुरु भएको तराई(मधेश जागरण कार्यक्रम अन्तर्गत झापामा भएको उद्घाटन सत्रमा नारायणकाजी रिसाएका थिए ।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएको बताए । त्यसपछि मन्तव्य अघि नबढाएको उनले स्पष्ट पारे । सोमबार (फागुन १२) झापामा भएको उक्त घटनालाई सामान्य रूपमा लिन उनले आग्रह गरे । ‘अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु’, श्रेष्ठले भनेका छन् ।
सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका छैनन् ।
पूर्व उपप्रधान तथा गृहमन्त्री एवं परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठ अहिले चितवन पुगेका छन् । अहिले माडी नगरपालिकामा हुन लागिएको चार दिने शिवरात्रि मेलाको उद्घाटनका लागि श्रेष्ठ चितवन आएका हुन् । झापामा रिसाएर चितवन आएका उनी फेरि अभियानमा जोडिने वा नजोडिने भन्नेमा आशंका उब्जिएको छ ।