नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समूहको झडपले उग्ररूप लिएको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्यान जलेको जानकारी दिए । ‘झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ जिसीले भने ।
गए राति सुरु भएको विवाद झडपमा परिणत भएपछि कडा सुरक्षा संयमता अपनाइएको प्रहरीले जनाएको छ ।
तीन महिनाअघि एक जोडीले भागी विवाह गरेका थिए । त्यतिबेलै केटी पक्षबाट केटाका बुवामाथि आक्रमण भएको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।
सोमबार साँझ फेरि केटी पक्षले केटाका भाइलाई आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको हो । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।