ट्रम्पलाई म्याक्रोँले भनेः युक्रेनमा शान्तिको अर्थ आत्मसमर्पण होइन

Image

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले शान्तिको अर्थ युक्रेनको ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिएका छन् । 

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताले ट्रान्साटलान्टिक तनावका बावजुद अगाडिको बाटो निर्धारण भएको बताए । रूसले युक्रेनमा आक्रमण सुरू गरेको तेस्रो वर्षगाँठको अवसरमा ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले युक्रेनमा शान्ति सैनिक पठाउने विचारमा प्रगति भएको बताएका छन् । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘यस वर्ष’ शान्तिका लागि आह्वान गरेपछि किएभमा युरोपेली नेताहरू पुगेका थिए । मङ्गलबार बिहान युक्रेनमा हवाई आक्रमणको चेतावनीको सङ्केतस्वरूप साइरन बजेपछि अधिकारीहरूले व्यापक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी जारी गरेका थिए । 

मङ्गलबार भएको आक्रमणमा कम्तीमा पाँच जना घाइते हुनुका साथै कैयौँ भवनमा क्षति पुगेको बताइएको छ । छिमेकी देश पोल्याण्डका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणको जवाफमा सैन्य विमानहरू तैनाथ गरिएको भनेका छन् । 

संयुक्त राष्ट्रसङ्घमा, संयुक्त राज्य अमेरिकाले सोमबार दुई पटक रूसको पक्ष लिएको थियो, किनकि वासिङ्टनले आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि मस्कोको आक्रमणको कुनै पनि निन्दाबाट बच्न चाहेको थियो ।

“यो शान्तिको अर्थ युक्रेनले आत्मसमर्पण गर्नु होइन,” ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोँले भने । 

राष्ट्रपति म्याक्रोँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः वार्ता गर्न ट्रम्पसँग ’राम्रो कारण’ रहेको तर वासिङ्टनले कुनै पनि युरोपेली शान्ति सेनालाई ‘सहयोग’ प्रदान गर्नु महत्वपूर्ण रहेको उल्लेख गरे । 

फ्रान्सेली राष्ट्रपति म्याक्रोँले बिहीबार ह्वाइट हाउसको भ्रमण गर्ने बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग युक्रेनमा शान्ति सेना पठाउने प्रस्तावमा काम गर्नेबारे कुरा भएमो पनि स्मरण गराएका छन् । 

“अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुरा गरेपछि अगाडि बढ्ने बाटो छ भन्नेमा म पूर्णरूपमा विश्वस्त छु,” म्याक्रोँले भने ।

एक हप्तामा युद्ध अन्त्य गर्न सकिने
ट्रम्पले रुससँगको कूटनीतिक वार्ता पुनः सुरु गर्न र युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आफू तयार रहेको घोषणा गरेपछि फ्रान्सका राष्ट्रपति वासिङ्टन पुगेका हुन् । 

ट्रम्प हालै रूससँग नजिकिएपछि यसले किएभलाई प्राप्त अमेरिकी समर्थन समाप्त पार्न सक्ने मात्र होइन, बाँकी युरोपका लागि पनि खतरा उत्पन्न भएको आँकलन हुँदैछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको र आगामी दुई हप्तामा ह्वाइट हाउसमा जेलेन्स्कीले युक्रेनको दुर्लभ खनिजपदार्थमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरेको बताए । ट्रम्प युक्रेनले ५ खर्ब डलर बराबरको खनिज पदार्थमा पहुँच दाबी गरिरहेका छन् । 

“मलाई लाग्छ कि यदि हामी अपेक्षाकृत रूपमा अघि बढ्न सकेमा हामी यसलाई हप्ताभित्र अन्त्य गर्न सक्छौँ । तर, सशक्तरूपमा काम भएन भने यो केही लामो समय जारी रहनेछ,” ट्रम्पले ओभल अफिसमा म्याक्रोँसँगै गरेको पत्रकार सम्मेलनमा भने ।