मेयर बालेनले प्रधानमन्त्री ओलीलाई भने- मलाई हराउने ताकमा देशलाई नडुबाउनुस्

Image

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै युस्तो आरोप लगाएका हुन् । उनले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिडेको मान्छे रहेको बताएका छन् । उनले भनेका छन्, ‘ प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !’

मेयर शाहले प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने दाउ देशलाई नडुबाउन सुझाव दिएका छन् । ‘मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’ उनले भनेका छन् ।

संघीय सरकारले काठमाडौैं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा महानगरको विकासको काम रोकिएको छ ।

यता, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने, सरुवा गर्ने जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने महानगरमा अहिलेसम्म औपचारिक रूपमा  प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने नदेखिएको बताउँदै आएको छ ।

यसअघि मेयर शाहले काठमाडौँ टावरमा गैरकानुनी काम गरेको भन्दै गत पुस ५ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेका थिए।

काठमाडौँ टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको आरोप महानगरले लगाएको थियो । अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौँ महानगरपालिकाका सरसफाइ कर्मचारीले समेत तलब पाउन सकेका छैनन्।