शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्तामा चर्काचर्की परेको छ।
बीबीसीका अनुसार ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाउँदै उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिए। यस क्रममा ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे।
ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप पनि लगाए। यसैबीच जेलेन्स्कीले भने, ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ।’
ओभल अफिसबाट जारी गरिएको भिडिओमा युक्रेनी राजदूतले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ।
जेलेन्स्कीले दुई देशबीच बहुमूल्य खनिजहरूको सम्झौता गर्न अमेरिकाको भ्रमण गरेका थिए तर यो सम्झौता अब असफल भएको छ।