अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोदिमिर जेलेन्सकीबीच वार्ता हुने भनेपछि विश्वको ध्यान ह्वाइट हाउसमा केन्द्रित थियो।
युक्रेनका राष्ट्रपति शुक्रबार ह्वाइट हाउसबाट खुसी हुँदै बाहिर निस्कने अपेक्षामा युरोप र विश्वले गरेको थियो। उनले डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्ता गर्ने र अमेरिका-युक्रेन बीचको खनिज सम्झौतामा हस्ताक्षर गरी अमेरिकालाई आफ्नो देशको भविष्यमा वास्तविक हित दिलाउने योजना बनाएका थिए, चाहेजस्तो सुरक्षा प्रत्याभूति नभए पनि।
तर अवस्था बिल्कुलै फरक रह्यो। राष्ट्रपतिका रूपमा रहेका डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भ्यान्सले वर्षौंदेखि अमेरिकाले दिएको समर्थनका लागि अझ बढी आभार व्यक्त गर्नुपर्ने भन्दै भोलोदिमिर जेलेन्स्कीलाई विश्वभरका सञ्चारमाध्यमहरू सामु तीव्र आलोचना गरे।
जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्धविरामको समझदारी गर्न अझ बढी प्रयास गर्नुपर्ने अमेरिकी सुझावलाई अस्वीकार गरे। यसको प्रतिउत्तरमा ट्रम्प र भ्यान्सले उनलाई ‘असहमति देखाउने’ अर्थात् ‘अपमानजनक’ भएको आरोप लगाए।
अन्ततः जेलेन्स्कीलाई निर्धारित पत्रकार सम्मेलन हुनु अघि नै ह्वाइट हाउस छोड्न भनियो। यसैबीच, जसलाई दुवै पक्षले यसअघि निकै प्रशंसा गरेका थिए, त्यो खनिज सम्झौतामा हस्ताक्षर नै भएन। ट्रम्पले सामाजिक सञ्जालमा लेखे, ‘शान्तिका लागि तयार भएपछि मात्र फर्कनू।’
यो बैठकमा धेरै महत्त्वपूर्ण तनाव देखियो। यहाँ चार प्रमुख तनावपूर्ण क्षणहरू छन्, जसका पछाडि गहिरो राजनीति र भावना लुकेको छ।
जेलेन्स्की र भ्यान्सबीच तीव्र विवाद
बैठकको सुरुवातमा करिब आधा घण्टा सौहार्दपूर्ण वार्ता र औपचारिकता भए पनि ओभल अफिसमा तनाव तब बढ्यो जब उपराष्ट्रपति जेडी भ्यान्सले भने, शान्ति र समृद्धितर्फको बाटो कूटनीतिक रुपमा अपनाएर अघि बढ्नु पर्छ र राष्ट्रपति ट्रम्प अहिले त्यही गरिरहेका छन्।
यसपछि जेलेन्स्कीले तुरुन्तै हस्तक्षेप गर्दै सन् २०१९ मा भएको असफल युद्धविराम सम्झाउँदै भने,’रूसको आक्रमणका क्रममा कसैले पनि पुटिनलाई रोक्न सकेन।’
उनले भ्यान्सलाई कडा चुनौती दिंदै सोधे, ‘कस्तो कूटनीति? जेडी, तपाईं के भन्न खोजिरहनुभएको छ?’ त्यसपछि वातावरण थप तनावपूर्ण बन्यो। भ्यान्सले प्रत्युत्तर दिए, ‘त्यस्तो कूटनीति, जसले तपाईंको देशको विनाश अन्त्य गर्छ।’
भ्यान्सले जेलेन्स्कीलाई ‘असम्मानजनक व्यवहार देखाएको’ आरोप लगाउँदै अमेरिकी मिडियाको अगाडि ‘युद्धको मुद्दा उचालिरहेको’ आरोप लगाए। विवाद त्यतिबेला झन् चर्कियो जब भ्यान्सले ट्रम्पको युद्ध अन्त्य गर्ने रणनीति पुटिनसँग प्रत्यक्ष संवाद खोल्ने र छिटो युद्धविरामका लागि दबाब दिने खालको थियो।
हामी के अनुभव गर्नेछौं भनेर हामीलाई नभन्नु
भ्यान्सले युक्रेनी सेनाको समस्या र अनिवार्य भर्तीबारे प्रश्न उठाएपछि, जेलेन्स्कीले जवाफ दिए, युद्धको समयमा सबैसँग समस्या हुन्छ, तपाईंहरूसँग पनि। तर तपाईंहरूसँग सुन्दर महासागर छ, त्यसैले अहिले महसुस नगरे पनि भविष्यमा गर्नेछौ।
उनको यो टिप्पणीले ट्रम्पलाई चिढ़ायो, जसले अहिलेसम्म भ्यान्स र जेलेन्स्कीबीच सीमित रहेको विवादमा हस्तक्षेप गरे। जेलेन्स्कीले परोक्ष रूपमा संकेत गरे कि ट्रम्पले युद्धका आक्रान्तासँग सम्झौता गर्दा हुन सक्ने नैतिक जोखिमलाई बुझ्न सकेका छैनन्।
यो भनाइले ट्रम्पको युद्ध नीति प्रति गरिएको मुख्य आलोचनालाई प्रस्ट रूपमा उजागर गर्यो – कि उनले मस्कोलाई पुनः स्वीकृति दिँदा पुटिन झन् साहसी बन्नेछन्, युरोप कमजोर हुनेछ, र युक्रेन अझ जोखिममा पर्ने छ।
‘युद्धको असर तपाईंहरूसम्म पुग्छ’ जेलेन्स्कीकोले चेतावनी दिए। ट्रम्पले यो युद्धलाई दुई पक्षीय विवादका रूपमा चित्रित गर्ने गरेका छन्, जसमा दुबै पक्षले बराबरी दोष उठाउनुपर्ने र संघर्षको भार बाँड्नुपर्ने धारणा राखे। तर जेलेन्स्कीले यस्तो सोचाइका भयानक परिणामबारे चेतावनी दिन चाहन्थे। ओभल अफिसमै उनले ट्रम्पलाई स्पष्ट रूपमा भने, ‘रूसलाई सम्झौताका नाममा फाइदा दिने हो भने, युद्ध तपाईंहरूसम्म आइपुग्नेछ।’
यही भनाइले ट्रम्पलाई सबैभन्दा धेरै रिस उठायो। उनले कडा शब्दमा प्रतिवाद गर्दै भने, ‘हामी के महसुस गर्नेछौं भनेर तपाईंले नबुझाउनुहोस्। तपाईं त्यसो भन्ने स्थितिमा हुनुहुन्न।’ उनको स्वर झन् कडा हुँदै गयो। ‘तपाईं अहिले कमजोर स्थितिमा हुनुहुन्छ। तपाईं लाखौं मानिसको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ’ ट्रम्पले थपे। साथै उनले तेस्रो विश्वयुद्धका लागि उक्साउन खोजेको आरोप समेत लगाए। यो भनाइले जेलेन्स्कीलाई ट्रम्पको विरोध गर्नेहरू माझ थप समर्थन दिलाउन सक्छ। तर यो क्षणले युरोपमा युद्ध र शान्तिको भावी दिशासमेत निर्धारण गर्न सक्छ।
‘तपाईं एक्लो हुनुहुन्न’
वार्ताको क्रममा कुनै बिन्दुमा जेलेन्स्कीले भने, ‘युद्धको सुरुदेखि हामी एक्लै लडिरहेका छौं, तर हामी आभारी छौं।’ यो सुनेर ट्रम्प आक्रोशित भए। उनले अमेरिकी करदाताको पैसा यस युद्धमा बर्बाद भएको बताउँदै आएका छन्।
‘तपाईं एक्लो हुनुहुन्न’ उनले दोहोऱ्याउँदै भने। ‘हामीले तपाईंलाई- त्यो मूर्ख राष्ट्रपतिबाट ३५० अर्ब डलर दिएको छौं,” उनले बाइडेनलाई इंगित गर्दै भने।
त्यसपछि भ्यान्सले सोधे, ‘के तपाईंले आजको बैठकमा अमेरिका प्रति आभार व्यक्त गर्नुभएको थियो?’ उनले जेलेन्स्कीलाई ‘डेमोक्र्याटहरूको लागि प्रचार गरिरहेको’ आरोपसमेत लगाए।
यो टिप्पणी सन् २०२३ को अमेरिकी निर्वाचनअघि जेलेन्स्कीले पेनसिल्भेनियास्थित एक हातहतियार कारखानामा गरेको भ्रमणप्रति संकेत थियो। रिपब्लिकनहरू यस भ्रमणलाई लिएर आक्रोशित भएका थिए। उनीहरूले जेलेन्स्कीलाई अमेरिकी चुनावी मैदानमा कमला ह्यारिसको पक्षमा प्रचार गरेको आरोप लगाएका थिए।
त्यही समयमा, अमेरिकाको आन्तरिक राजनीतिक विभाजन यो महत्वपूर्ण कूटनीतिक बैठकमा खुलेर पोखियो। जब जेलेन्स्कीले भने, ‘तपाईंलाई लाग्छ कि युद्धबारे ठूलो आवाजमा बोलेर…’
ट्रम्पले उनको कुरा काट्दै भने, ‘उहाँ ठूलो स्वरले बोलिरहनुभएको छैन। तपाईंको देश गम्भीर संकटमा छ।’ ट्रम्पले थपे, ‘तपाईं यो युद्ध जितिरहनुभएको छैन। तपाईंलाई सुरक्षित निस्कने राम्रो अवसर हामीले दिएका छौं।’
जेलेन्स्कीको प्रतिवादले के मूल्य चुकाउनु पर्ला?
ट्रम्पले कडा रूपमा भने, ‘यस्तो अवस्थामा व्यवसाय गर्न निकै गाह्रो हुन्छ। सम्झौता गर्न कठिन हुनेछ, किनकि सोचाइ परिवर्तन गर्नुपर्छ।’ राष्ट्रपति र उपराष्ट्रपतिले जेलेन्स्कीको व्यवहार प्रति असन्तोष व्यक्त गरे।
‘बस्, धन्यवाद भन्नुस्’ भ्यान्सले कडा शब्दमा माग गरे। तर जेलेन्स्की झुकेनन्। उनले दुई शक्तिशाली नेताहरूसँग आफ्नो तर्क राखिरहे। जेलेन्स्की तीन वर्षदेखि आफ्नो देशलाई रक्षा गर्दै आएका छन्, पुटिनले विभाजित गर्न खोजिरहेको समाजलाई एकताबद्ध राख्न संघर्ष गरिरहेको युरोपको बुझाइ छ।
तर क्यामेराको मुख्य दृश्यबाहिर अर्को दृश्य थियो- वासिङ्टनस्थित युक्रेनी राजदूत ओक्साना मार्कारोभा, जसले तर्क-वितर्क चर्किंदै जाँदा टाउको समातेर बसेकी थिइन्। यो एउटा प्रतीकात्मक दृश्य थियो- जेलेन्स्कीको जटिल कूटनीतिक अवस्था र उनको ‘सुपरपावर सहयोगी’ संगको सम्बन्धको लागि।
शुक्रबार ट्रम्पलाई खुलेर चुनौती दिनु उनले पुटिनसँग अन्ततः हार स्वीकार गर्नुपर्ने संकेत बन्न सक्छ।
(बीबीसीको सहयोगमा)