एक सातादेखि हराएकी अञ्जलीको शव घरभित्रै गाडिएको अवस्थामा भेटियो

श्रीमान् १० महिने छोरी लिएर फरार

Image

धनुषामा महिलाको हत्यापछि घरभित्रै गाडेको अवस्थामा शनिबार दिउँसो प्रहरीले उत्खनन गरी शव निकालेको छ । जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाकी २० वर्षीया अञ्जलीदेवी यादवको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा प्रहरीले उत्खनन गरी निकालेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । त्यसक्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव भेटिएको हो ।

अञ्जलीका श्रीमान हरेराम यादव फरार छन् । उनले श्रीमतीको हत्या गरी घरभित्रै गाडेर १० महिनाकी छोरी साथमै लिएर फरार रहेको हुन सक्ने आशंका भइरहेको एसपी तिवारीले बताए ।

हरेरामका छिमेकीका अनुसार गत शनिबार अञ्जलीसँग उनको झगडा भएको थियो। सोही दिन हरेरामले आफ्नी श्रीमती अञ्जली घर छोडेर भागेर गएको छिमेकीहरूलाई बताएका थिए । त्यसको तीन दिनपछि हरेराम पनि १० महिनाकी छोरी लगेर फरार भएका थिए ।

त्यसैक्रममा स्थानीयले घरबाट गन्ध आएको हुँदा हरेरामले श्रीमतीको हत्या गरी घरभित्रै गाडेको हुन सक्ने भन्ने प्रहरीलाई खबर गरेको हुँदा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी गई घरको ढोका खोली हेर्दा घर भित्र दुगन्ध फैलिएको अवस्था खुलेपछि थप अनुसन्धान थालेको थियो ।

घरकै देवता राखिएको पूजाकोठामा खनेको तथा शंकास्पद देखिएपछि केही चिज गाडेको हुन सक्ने सम्भावनाका साथ प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा खन्न सुरू गरेको थियो ।

बिहान सवा ११ बजेदेखि खन्न सुरू गरेको प्रहरीले दिउँसो १ बजे कुहिएको अवस्थामा अञ्जलीको शव पूजाकोठामा गाडेको अवस्थामा निकालेको हो । प्रहरीका अनुसार आठ दिन पहिले नै अञ्जलीको हत्या गरी हरेरामले पूजाकोठाभित्रै गाडेको आशंका भइरहेको छ ।

शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको छ ।