मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षका सवारीसाधनको चाबी खोसेका छन् ।
मंगलबार गाउँपालिकाको कार्यपालिका बैठकमा अध्यक्ष माझीले विभिन्न ६ प्रस्ताव प्रस्तुत गरेको र त्यसमध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन् । “आज (फागुन २०) कार्यपालिका बैठक थियो, हामीले बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति गरेका थियौँ । यही रिसमा मेरो गाडीको चाबी खोसिएको हो,” उनले भनिन्, “अध्यक्षले माओवादी कार्यकर्ता खटाएर चाबी खोस्न लगाउनुभयो ।”
गएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेर माझी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी आएसँगै नेपाली कांग्रेस र नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन् ।
माघ २९ गतेको कार्यपालिका बैठकका निर्णय पनि कार्यान्वयन गर्न उच्च अदालत विराटनगरले रोक लगाएको छ । कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीले अदालतमा रिट दायर गरेकी थिइन् ।
माझीले वडा नम्बर २ का वडाध्यक्षले चढ्दै आएको मोटरसाइकलको चाबी पनि खोसेका छन् ।
ग्रामथान कार्यपालिकामा कांग्रेस–एमालेबाट निर्वाचत जनप्रतिनिधिको बहुमत छ । उनीहरूले बक्राहासहितका खोलाबाट अवैध उत्खनन गराइएको र त्यसमा अध्यक्षको मिलेमतो रहेको भन्दै विरोध गर्दै आएका छन् ।
अध्यक्ष माझीले यस अघि अवैध उत्खनन् रोक्न भन्ने प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेका थिए भने केही दिन अघि मात्रै आफूखुसी कार्यपालिका बैठक गरेर निर्णय गरेका थिए । उपाध्यक्ष चौधरी अदालत गएपछि उनको निर्णय कार्यान्वयन नगर्न आदेश भएको थियो ।