आगामी वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सबै प्रदेशका यातायातमन्त्रीसहितको विषयगत बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले यातायात व्यवस्था विभागबाट हालसम्म छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाइ गर्ने र ०८२ वैशाख १ गतेदेखि साउन १ गतेसम्म सबै प्रदेशले स्वीकृत ढाँचाबमोजिम सवारी चालक अनुमतिपत्रको छपाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो ।
यसका लागि आवश्यक प्राविधिक सहायता विभागले उपलब्ध गराउने भएको छ । राइड सेयरिङलाई व्यवस्थित गर्न र प्रदेशबीच नीतिगत एकरूपता कायम गर्न प्रदेश सरकारको सहभागितामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धित प्रदेशले लागु गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातका विभिन्न सेवालाई राष्ट्रिय परिचयपत्रसँग जोड्न सकिए बायोमेट्रिकका देखिएको समस्या समाधान हुनसक्ने बताए । उनले अझै पनि १९ लाख सवारी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा प्रदेशबाट छपाइ सुरु गर्न सके सहज रूपमा वितरण गर्न सकिने बताए ।
यसैगरी यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैत मसान्तभित्र सबै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली सुरु गर्ने निर्णय भएको छ । प्रारम्भमा विद्युतीय सवारी चालक अनुमति पत्र–‘ईडीएल’ मा यो लागू हुने र क्रमश: भुक्तानीका सवै क्षेत्रमा लागू गर्ने निर्णय भएको हो ।
विभिन्न महत्वपूर्ण विषयहरुमा निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकले अघिल्लो वैठकका निर्णयहरुको समिक्षा गरेको थियो भने पछिल्लो बैठकका निर्णय कार्यान्वयनको पनि नियमित समीक्षा हुने जनाइएको छ ।
सवारी चालक अनुमति छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोष्ड नम्बर जडानलाई तिव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरुले प्रतिबद्धता जनाए ।