अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ ।
बुधबार बिहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । उनीहरुलाई अमेरिकी अध्यागमन आइसले चार्टडविमानमार्फत नेपाल ल्याइएको हो ।
बुधबार नेपाल आइपुगेकाहरु अमेरिका पुगेपछि अध्यागमन अदालतले देशनिकालाको आदेश दिइसकेकाहरु रहेका छन् । उनीहरु दलाललाई लाखौं रकम तिरेर मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका नेपालीहरु रहेका छन् । तर उनीहरु कतिजना छन् भन्ने यकिन विवरण भने प्राप्त भएको छैन ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाल्ने क्रमले तीव्रता पाएको हो ।
नेपालसँग भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई समेत अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।