फागुन २५ को राप्रपाको आमसभा स्थगित, ज्ञानेन्द्रको स्वागतका लागि एयरपोर्ट जाने

Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन २५ गते काठमाडौंमा गर्ने भएको आमसभा स्थगित गरिएको छ ।

पूर्वराजा  ज्ञानेन्द्र शाह आगामी २५ फागुनमा पोखराबाट काठमाडौं आउँदैछन् । सोही दिन राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आमसभा राखेको थियो । तर, बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आमसभा स्थगित गर्ने र पूर्वराजाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ ।

बैठकले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा गरेको सम्बोधनको स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनले भने, पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ ।’

शाह लामो समयदेखि पोखरामा छन् । यसैबिच शाहले आज बागलुङस्थित कालिका भगवती मन्दिरको दर्शन गरेका छन् । पोखरामै रहेका बेला ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन एक सन्देश जारी गरेका थिए । राजतन्त्र पुनर्स्थापनाको माग गरिरहेको राप्रपा ज्ञानेन्द्रको उक्त सन्देशबाट हौसिएको छ । बुधबारको पदाधिकारी बैठकले ज्ञानेन्द्रको सन्देशको स्वागत गर्ने निर्णय समेत गरेको छ ।