इजरायलले गाजामा विद्युत् आपूर्ति बन्द गर्ने निर्णय गरेको छ ।
हमासले मुक्त गर्न बाँकी ५९ बन्धकहरुको रिहाइका लागि दबाव दिन इजरायलले विद्युत् आपूर्ति बन्द गर्ने निर्णय गरेको हो ।
इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेसनलाई गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्न आदेश दिइसकेको बताएका छन् । उनले भनेका भने, “मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु । हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मुलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौँ ।”
गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारी साधनहरूको बाटो अवरुद्ध गरेको थियो । उनले पानी आपूर्ति बन्द गर्ने बारेमा पनि सोचिरहेको बताए ।
इजरायलले हमास आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन तयार होस् भन्ने चाहेको छ । तर, हमासले युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहेको छ ।
















