स्ववियु निर्वाचन: अधिकांश क्याम्पसमा मतदान जारी

काठमाडौँका मुख्य क्याम्पसमा स्थगित

Image

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ ।

अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए । उनका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ ।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।

काठमाडौंका मुख्य क्याम्पसमा चुनाव स्थगित

निर्वाचनको तयारी पूरा भएपछि काठमाडौंका मुख्य क्याम्पसमा चुनाव रोकिएको छ । रत्नराज्य क्याम्पसमा तयारी पूरा भएपछि अनेरास्ववियुको तालाबन्दीले चुनाव रोकिएको छ ।

शिक्षाध्यक्ष केसीका अनुसार त्रिचन्द्र क्याम्पस, पद्मकन्या, विश्वभाषा, अस्कल, ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पसमा चुनाव रोकिएको छ ।

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ का लागि चुनाव तोकिएको छ । त्रिविको भैरहवा, बुटवल र जनकपुरको क्याम्पसमा पनि स्थगित भएको शिक्षाध्यक्ष केसीले बताए ।