बरामद २५ करोड नगदबारे अनुसन्धान गर्न माओवादी सांसदले मागे विशेष छानविन समिति

Image

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदले २५ करोड नगद बरामद घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले उक्त घटनाका बारेमा अनुसन्धान गर्न विशेष प्रकारको छानबिन समिति गठनको माग गरे ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट सिन्धुपाल्चोकका कुसान लामालाई २५ करोड १ लाख ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो । सांसद सापकोटाले उक्त घटनामा संलग्न जोसुकै होस् कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

‘गत सोमबार राति ११ बजे काठमाडौंको टोखा नगरपालिका २ झोरबाट नेपाल प्रहरीले अहिलेसम्मकै धेरै ठूलो अवैध रकम सहित एउटा गाडी बरामद गरेको छ । डलर, युरो गरेर २५ करोड अवैध नगद बरामद भएको समाचारहरू बाहिर आएका छन् । यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ । प्रतिपक्षीले यो सरकार सुशासनका प्रति इमान्दर छैन र सरकारकाप्रति आशंका छ भनेर हामी चिन्ता व्यक्त गर्दै थियौं र छौं । यो घटनाले के देखिन्छ भने संगठित अपराध र तस्करको जालो कुन स्तरमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ । यसैले यो घटनाप्रति माओवादी केन्द्रको ध्यानकर्षण भएको छ,’ उनले भने,’घटनाका बारेमा अनुसन्धान गर्न विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यो घटनमा संलग्न जोसुकै उच्च तहका नेता कर्मचारीहरू तिनलाई कानुनी दायरामा ल्याउनका लागि माग गर्दछु ।’

उनले यति ठूलो तस्करीको घटनामा उपल्लो तहको कनेक्सन हुनसक्ने भन्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । अहिलेसम्म यस्ता प्रकृतिका घटनाहरूमा संलग्न भरिया र ड्राइभरहरू मात्र पक्राउ पर्ने र निश्चित समयपछि घटना ढिसमिस भएर जाने बताए । उनले पुन: यस्ता घटना दोहोरिन नदिन गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने बताए ।