संवैधानिक निकायका पदाधिकारीविरुद्धको रिट हेर्दैहेर्दैमा, अर्को सुनुवाइ वैशाखमा

Image

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिटको सुनुवाइ फेरि हेर्दैहेर्दैमा राखेर पेसी तोकिएको छ ।

आज बुधबार भएको सुनुवाइमा रिट निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितले बहस गरिसकेपछि अर्को पेसी वैशाख ३ लाई तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

आज निवेदकतर्फका अधिकांश कानुनव्यवसायीको बहस सकिएको अधिवक्ता ओमप्रकाश अर्यालको भनाइ छ । यसअघि सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ अधिवक्ताले बहस गरेका थिए । दोस्रो दिन पनि बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो ।

त्यसअघि गत माघ ३० गते निवेदकतर्फबाटै बहस भएको थियो । निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन् । त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जना बहसका लागि तयार पारिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानुनी रहेको दाबी गरी बदर गर्न निवेदकले माग गरेका छन् ।

२०७७ पुस १ गते वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले यी ५२ जनाकै नियुक्ति गैरकानुनी भन्दै बदर गर्न माग गरेर रिट दायर गरेका थिए । त्यसपछि उनीसहितले थप १४ वटा निवेदन दर्ता गरेका थिए ।