रविको निवेदन संयुक्त इजलासमा पठाउने आदेश

Image

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ ।

रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।

न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब अर्को दिन संयुक्त इजलासमा पेशी तोकिने छ ।

लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिइन् ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।