प्रचण्डको टिप्पणी– यो सरकार अब एक दिन पनि नेतृत्वमा बस्न मिल्दैन

Image

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्न नहुने बताएका छन् ।

मंगलबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार शिक्षकका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरुलाई अपमानित गर्न लागेको आरोप समेत लगाए ।

‘यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ,’ प्रचण्डले भने, ‘हजारौं र लाखौं शिक्षक सडकमा छन् । ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने । तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन । यो भन्दा लाजमर्दो कुरा के हुन्छ । लाखौं शिक्षक र देशभरीका विद्यालयहरु संकटमा छन् ।’

उनले देशको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउँदै केपी शर्मा ओली नेतृत्वको सरकारको जन्म नै असंवैधानिक तरिकाले भएको बताए ।

“देशको स्थिति चुनौतीपूर्ण छ । एमाले र केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक छ भनेका छौँ । यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा नै हो,” उनले भने ।

उनले राम्रो काम गर्नेको तेजोबध गर्ने र आफ्नो लागि लागिपर्नेलाई जसरी पनि जोगाउने नै यो सरकारको काम भएको बताए ।