जम्मू-कश्मीर आक्रमणमा २८ जनाको मृत्यु, मोदीले साउदी भ्रमण छोट्याए

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गरेका छन् । उनी आज राति भारत फर्किनेछन् ।

यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । थप ३६ जना घाइते भएका छन् ।

यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ ।

प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।

यस घटनापछि गृहमन्त्री अमित शाह सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।