परिवारसँग जम्मू-कश्मीर घुम्न गएका थिए सुदीप, आतंकवादी हमलामा मारिए

Image

भारतको जम्मू-कश्मीरस्थित पहलगाममा मंगलबार भएको आतङ्कवादी आक्रमणमा परेर बुटवलका एक युवकको मृत्यु भएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका -१४ निवासी २७ वर्षीय सुदिप न्यौपानेको मृत्यु भएको हो । उनी गत शनिबार आमा रीमा न्यौपाने, बहिनी सुस्मा न्यौपाने र ज्वाइँ उज्वल काफ्लेसहित भारत घुम्न पुगेका थिए ।

सुदिप धरानमा पब्लिक हेल्थ विषय अध्ययन गर्दै आएका थिए। आक्रमणमा सुदिपको ज्यान गएको हो भने उनका अन्य तीनजना परिवारका सदस्य सकुशल छन्। सुदिपको शव आज साँझसम्म काठमाडौं ल्याउने तयारी भइरहेको छ।

भारतीय मिडिया रिपोर्टअनुसार, आक्रमण पहलगामको बैसरन उपत्यकामा दिउँसो २स्४५ बजे भएको हो। चार जना बन्दुकधारीले पर्यटकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। तीमध्ये तीन जना पाकिस्तानी र एक जना स्थानीय कश्मीरी भएको बताइएको छ। आक्रमणमा करिब ५० राउन्ड गोली चलाइएको थियो।

लश्कर-ए-तैयबा नामक आतङ्ककारी समूहले आक्रमणको जिम्मेवारी लिएको छ। घटनामा २६ जनाभन्दा बढीको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि सुरक्षाबलले सो क्षेत्रलाई घेराबन्दी गरी निगरानी बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो आक्रमण सन् २०१९ मा पुलवामा भएको आक्रमणपछि जम्मू(कश्मीरमा भएको सबैभन्दा ठूलो आतङ्कवादी घटना मानिएको छ।