बर्खास्तीमा परेका राज्यमन्त्री भन्छन “ओलीले मलाई हटाए, अब ओलीलाई हटाउँछु”

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन । सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् । राज्यमन्त्री तामाङले सरकारका निर्णयमा असहमति जनाउदैँ आएका थिए ।

ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए ।

काँग्रेसबाट मन्त्री बनेका तामाङले कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने चर्चा चलिरहँदा पनि पदमा पुगेका ४६ दिनमै लोडसेडिङ हटाएका कुलमानलाई अपमान गर्न नहुने बताउँदै आएका थिए । आफ्नै पार्टीबाट मन्त्री बनेका ऊर्जामन्त्री दिपक खड्काले घिसिङलाई स्पष्टीकरण माग गर्दा बिरोधसमेत जनाएका उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले कुलमानको पक्षमा उभिदाँ प्रधानमन्त्री रिसाएकाले यस्तो नगर्न सचेत समेत गराएकी थिईन ।

यो सँगै ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका समेत तामाङले बताएका छन । दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको उनले बताए ।

तामाङले पार्टीले फिर्ता बोलाउनुपर्नेमा एमालेले भनेअनुसार काम नगरेको भएर प्रधानमन्त्री ओलीले बर्खास्त गरेको आरोपसमेत लगाए । ‘कुनै आयोजनाको डीपीआर बनाउन एमालेले भनेअनुसारको बजेट राखेर गर्ने निर्देशन आयो मैले डीपीआरको खर्च कसले बेहोर्छ भनेर सोधेको थिएँ उनीहरूलाई चित्त बुझेन हटाउनुभयो, ‘ उनले टिभी अन्नपूर्णसँगको कुराकानीमा भनेका छन ‘मलाई ओलीले हटाएको छ, ओलीलाई अब मैले हटाउँछु ।’