आफ्नो भूमिमा पानीको प्रवाह रोके पूर्ण शक्तिका साथ जवाफ दिने पाकिस्तानको तयारी

Image

भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ ।

प्रधानमन्त्री शहबाज शरीफले बोलाएको राष्ट्रिय सुरक्षा समितिको विशेष बैठकमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए ।

बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, “पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइनेछ ।”

भारतले जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकहरूको भिसा खारेज गर्ने निर्णय लिएको थियो ।

पाकिस्तानले जवाफमा भारतीय कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गरेको छ र भारतीय नागरिकहरूको भिसा रद्द गरिएको छ, यद्यपि सिख तीर्थयात्रीहरूलाई यसबाट छुट दिइएको छ । बैठकले सिन्धु जल सन्धि निलम्बन गर्ने भारतको निर्णय अस्वीकार गर्ने निर्णय गरिएको छ । यस सन्धिअन्तर्गत पाकिस्तानको भूभागमा पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयास भारतले गरे यसलाई युद्ध कारबाहीको रूपमा मानिने र पूर्ण शक्तिका साथ जवाफ दिने पाकिस्तानले जनाएको छ ।

पाकिस्तानले आफ्ना आकाशमार्गहरू भारतीय विमान कम्पनीहरूका लागि तत्काल प्रभावबाट बन्द गरेको छ । साथै, पञ्जावस्थित वाघा नाका पनि बन्द गरिएको छ । वक्तव्यमा भनिएको छ, “यस सीमाबाट हुने सबै प्रकारको पारवहन अविलम्ब रोकिनेछ ।”

पाकिस्तानले भारतसँग हुने सबै व्यापार, चाहे तेस्रो मुलुकमार्फत होस् वा प्रत्यक्ष, तत्काल स्थगित गर्ने निर्णय गरेको छ ।

कश्मीर आक्रमणपछि भारतले गर्यो पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन