विष सेवनबाट गम्भीर बनेकी आमाको पनि मृत्यु

Image

गत सोमबार विष सेवनबाट गम्भीर भएकी धनुषा सहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविता कुमारी साहको उपचारका क्रममा मृत्यु भएको छ । पविताको शुक्रबार बिहान जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरीसहित गहुँमा प्रयोग गरिने सल्फास नामको विषादी सेवन गरेकी थिइन् । सोही दिन उनको ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो ।

विष सेवन गरेकी पविता गर्भवती थिइन् । पविताको शल्यक्रिया गरेर बच्चालाई जोगाइएको थियो । बच्चाको स्वास्थ्य अवस्था अहिले समान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए ।

घरायसी विवादका कारण उनले चिसो पेय पदार्थमा विष मिलाएर तीनै छोराछोरीलाई खुवाएर आफूले पनि सेवन गरेकी थिइन् । पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए । पविताको माइती पक्ष र बुबा रामचन्द्र साहले ससुरा पक्षले शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाउँदै आएका छन् ।

विष सेवनबाट तीन छोराछोरीको मृत्यु, आमाको अवस्था गम्भीर