नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेपछि शिक्षक महासङ्घ वार्ताका लागि मन्त्रालयमा पुगेका छन् ।
नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालका अनुसार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा २५ जनाको टोली वार्ताका लागि गएको छ । नेपाल राष्ट्रिय शिक्षक संघ, नेपाल प्रगतिशिल शिक्षक संघ र नेपाल शिक्षक महासंघका पदाधिकारी मन्त्रालय पुगेका हुन् । उपमहासचिव रामप्रसाद ढकालले भने, ‘नयाँ मन्त्रीले आह्वान गर्नुभएकाले यसलाई हामीले सकरात्मक रुपमा लिएका छौँ ।’ सो अवसरमा शिक्षकले मन्त्री पन्तलाई बधाई तथा शुभकामना दिने कार्यक्रम पनि रहेको उनले जानकारी दिए ।
पदभार ग्रहण गरेको पछिल्लो दिन शुक्रबार (आज) वार्ताका लागि मन्त्री पन्तले सरकारका तर्फबाट पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई वार्ताका लागि आह्वान गरेका थिए ।
मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गरेको जानकारी गराएका छन् ।
गत चैत २० देखि विभिन्न मागसहित शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षक सडक आन्दोलनमा छन् ।