सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
टिप्परको ठक्करबाट आज सुनसरी दुहबी–९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
विराटनगर विराटचोक सडकखण्डअन्तर्गत हरैँचा बजारमा ना१क ६२७० नम्बरको टिप्परले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई बिहान ११ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनालगत्तै भेला भएका स्थानीयले विराटनगर विराटचोक सडकखण्ड अवरूद्ध बनाएर प्रदर्शन गरेका थिए । भिडले शवलाई सडकबाट उठाउन नदिएर घटनास्थलमा प्रदर्शन तथा सडक जाम गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास तथा हवाइफायर गर्नुपरेको कोशी प्रदेशका प्रहरी प्रवक्ता दाहालले उल्लेख गरे ।
हातमा भाला र लाट्ठीसहित प्रदर्शनमा उत्रिएका स्थानीयले आगजनीको प्रयास गर्दा टिप्परमा क्षति पुगेको छ । घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल र सशस्त्र तथा ट्राफिक प्रहरी परिचालन गरिएको थियो । ट्राफिक प्रहरीले उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई ‘डाइभर्ट’ गरेका थिए । सडकमै शव राखेर प्रदर्शनमा उत्रिएको भिड तथा अफन्तले टिप्परको तीव्र गतिका कारण दुर्घटना भएको उल्लेख गरेका छन् ।
दुर्घटनापछि प्रहरी र आफन्तबीच सहमति गरेर शव उठाइएको छ । मृतकका आफन्त र स्थानीयले भने टिप्परले ब्याक गरेर किचेर मारेको बताएका छन् । आफन्तले टिपरमा आगजनी गर्न खोजेपछि केही समय स्थिति तनावपूर्ण बनेको थियो । अशान्त रहेको घटनास्थलको स्थिति नियन्त्रणमा लिन ९ राउण्ड अश्रु ग्याँस र ८ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
टिप्पर चालक बारा कोल्बी घर भई हाल सुन्दरहरैँचा–१२ मा डेरा गरी बस्ने २५ वर्षीय पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल ल्याएर राखेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान अघि बढी सकेको प्रहरीले जनाएको छ ।