मस्को नजिकै कार बम विस्फोटमा रुसी सैन्य अधिकारीको मृत्यु

Image

शुक्रबार मस्को बाहिर भएको कार बम विस्फोटमा रुसी सैन्य अधिकारीको मृत्यु भएको रुसको अनुसन्धान एजेन्सीले बताएको छ ।

रुसी सेनाको जनरल स्टाफमा मुख्य विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिकको बालाशिखामा आफ्नै कारमा राखिएको विस्फोटक उपकरणले हत्या भएको अनुसन्धान समितिले जनाएको छ ।

समितिकी प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक उपकरणमा छर्रा प्रयोग भएको बताइन् । उनले अनुसन्धानकर्ताहरू घटनास्थलमा रहेको जानकारी दिइन् ।

रुसी सञ्चारमाध्यमले एक अपार्टमेन्ट भवनको आँगनमा गाडी जलेको भिडियो देखाएका छन् । समितिले संदिग्धबारे केही उल्लेख गरेको छैन ।

यो घटना लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्यापछि भएको हो । डिसेम्बर १७ मा उनको अपार्टमेन्ट बाहिर पार्क गरिएको स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा मृत्यु भएको थियो । रुसी अधिकारीहरूले किरिलोभको हत्यामा युक्रेनलाई दोष दिएका थिए ।