लालपूर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

Image

गोरखाको धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पूर्जा (लालपूर्जा) वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समितिमार्फत् भूमिहीन दलित परिवारलाई लालपूर्जा उपलब्ध गराइएको जानकारी दिए । मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पूर्जा प्रदान गरिएको हो ।

२०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पूर्जा वितरणको अन्तिम तयारी गरेको भए पनि सरकारले तत्कालीन आयोग खारेज गरेपछि पूर्जा वितरणको काम झन्डै डेढ वर्षदेखि रोकिँदै आएको थियो ।

गाउँपालिकामा भूमिहीन सुकुम्बासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । धार्चेमा अव्यवस्थित बसोबासी भने २५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गाधनी पूर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।

गण्डकी प्रदेशसभाका सदस्य नन्दप्रसाद न्यौपानेले दलित पविारलाई पूर्जा हस्तान्तरण गरेका हुन् । २०७९ असारमा आयोगसँग गोरखाका ११ स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने सहमति गरेका थिए ।

वर्षौंपछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पूर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी भएका छन् । ‘आफ्नो नाममा जग्गाको पूर्जा नपाई मरिन्छ कि भन्ने लागेको थियो, भूमिहीन दलितमध्येका एक आइतसिंहले भने, ‘गाउँपालिकाले पहल गरेर पूर्जा आफ्नै नाममा दिनुभयो, धेरै खुसी लागेको छ ।’