नायिका स्वेता खड्काका कारण माझी बस्ती नै लिलाम हुन लाग्यो : सांसद उर्मिला माझी

Image

नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले कलाकार स्वेता खड्काका कारण सिन्धुपाल्चोकका ५५ घर माझी परिवार कालोसूचीमा परेर विस्थापित बनेको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले माझी परिवार विस्थापित हुनपर्ने अवस्थामा पुग्न लागेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

०७२ सालको गोरखा भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा खड्काले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा ५५ घर माझी बस्ती बनाइदिए पनि कर्तव्य पूरा गर्न चुकेको उनको आरोप छ ।

‘व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ । कलाकारिताका हिसाबले राष्ट्रकै गहना हुनुहुन्छ, हामी उहाँलाई सम्मान गर्छौँ,’ उनले भनिन्, ‘उहाँले घर त निर्माण गरिदिनुभयो, तर आज उहाँकै कारणले गर्दा ५५ घरधुरी माझी समुदाय बैंकको कालोसूचीमा परेर बस्ती नै लिलाम हुने परिस्थिति सिर्जना भएको छ । उहाँले सेवाका भावनाले गर्नुभयो, हामी नराम्रो मान्दैनौँ । तर, उहाँले जुन किसिमले सेवा गर्न खोज्नुभयो, त्यसलाई पूरा गर्न सक्नु भएन । आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भएन ।’

बस्ती बनाउन स्वेता खड्का फाउन्डेसनमार्फत घर निर्माण गरिएको तर उनले बीचमै छाडेर हिँडेपछि ५५ घरधुरी बैंकको कालोसूचीमा परेको उनले बताइन् ।