अस्ट्रेलियाको चुनावमा लेबर पार्टीको जित, आइतबारदेखि काममा फर्कंदै अल्बानिज

Image

अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिजले दोस्रोपटक आम चुनाव जितेका छन् । एन्थोनी अल्बानीजको लेबर पार्टीले चुनावमा बहुमत हासिल गरेर गठबन्धनबिनै अर्को सरकार बनाउनेछ ।

यो चुनाव अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री अल्बानिज र विपक्षी नेता पिटर डटनबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो । डटनले हार स्वीकार गरे र अल्बानिजलाई फोन गरेर बधाई दिएका छन् ।

लिबरल-नेसनल गठबन्धनका उम्मेदवार पिटर डटनले ब्रिस्बेनको डिक्सनको आफ्नो सिट लेबरका अली फ्रान्ससँग हारे । आफ्नो विजयपछि अल्बानिजले भने, ‘अस्ट्रेलियालीहरू! तपाईंहरूको प्रधानमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो।’ ‘आज अस्ट्रेलियालीहरूले अस्ट्रेलियाली मूल्य-मान्यता, निष्पक्षता, आकांक्षा र अवसरका पक्षमा मतदान गरेका छन्’, उनले थपे।

अल्बानिजले आइतबारदेखि काममा फर्कने बताएका छन्। एन्थोनी अल्बिनिज लेबर पार्टीका नेता हुन् र २उनी ०२२ देखि अस्ट्रेलियाको प्रधानमन्त्री छन्।

उनी झन्डै ३० वर्षदेखि सांसद छन्। सत्तामा आएपछि एन्थोनी अल्बानिजले निकै लोकप्रियता हासिल गरे, तर हालसालै आवास, आदिवासी, यहुदी र इस्लामोफोबियाजस्ता मुद्दामा दबाबको सामना गर्नुपरेको छ।

अस्ट्रेलियामा मतदाताहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई मतदान नगरी सांसदहरूलाई गर्छन्। अनि सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री बन्छ।