रौतहटमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले विपरित दिशातर्फ जाँदै गरेको ना३प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रौतहट जिल्लाको गरुडा नगरपालिका ३ गेडही टोल बस्ने अन्दाजी ६० वर्षका बलिराम सहनि र सोही मोटरसाइकलमा पछाडि सवार उनकी छोरी ४० वर्षकी उर्मिला देवी सहनि रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामा भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए ।
दुर्घटनापछि कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको डिएसपी राइले बताए ।
















