केआईआईटीमा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको रुलिङ

Image

सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले किट कलेजमा नेपाली छात्रा प्रिसा साहको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरूले आकस्मिक समयमा उठाएको विषयले आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख घिमिरेले भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश दिए ।

उनले भने, ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’