झापाको कनकाई नगरपालिकाबाट प्रहरीले हवाई फायर गरेर प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरेको छ ।
आज बिहान अन्दाजी ८ः४० बजे कनकाई–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गरेको थियो । सो क्रममा बिआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट अन्दाजी २०० ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरी टोलीलाई देख्नासाथ फरार भएका मोटरसाइकल चालकलाई रोक्नका लागि दुई राउण्ड हवाई फायर गरिएको प्रवक्ता खड्काले बताए । प्रहरी टोलीले रोक्न खोज्दा मोटरसाइकल चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाए पनि उनी भाग्न सफल भएका थिए ।