राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले प्रमुख दुई पार्टीको दुर्लभ सरकार फेल भए के बाँकी रहन्छ भन्ने प्रश्न उठाएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे रास्वपाको तर्फबाट प्रतिनिधिसभा बैठकको छलफलमा भाग लिँदै वाग्लेले दुई तिहाइको सरकारले कामैले नतिजा दिनुपर्ने बताएका हुन् । ‘हामीले विकास गर्ने कुरालाई अन्यथा भनेका छैनौं । तर धेरै योजना कार्यक्रमभन्दा सरमा विषय आउनुपर्ने हो । पहिलो र दोस्रो दलले बनाएको यो दुर्लभ सरकार हो,’ वाग्लेले भने, ‘यत्ति बलियो सरकार पनि फेल भए के बाँकी हुन्छ ?’
दुई महिनादेखि राष्ट्र बैंकको गभर्नरमा अल्झिएको भन्दै उनले सरकार धेरै ठाउँमा चुकेको बताए । डा. बाबुरामलाई बाटो बनाउने, प्रचण्डलाई भुटानी शरणार्थी प्रकरणमा काम गरेका भनेर सम्झिँदा अहिलेको सरकारलाई कसरी सम्झिने भन्दै उनले प्रश्न उठाएका छन् । प्रचार गरिएका काममा पनि धेरै भ्रम रहेको भन्दै उनले व्यवहारिक बन्न आग्रह गरे ।
उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनमा रास्वपाको समर्थन रहेको भन्दै उनले सकिने जति कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए । अरु अध्यादेशको विरोध गरे पनि आर्थिक तथा व्यावसायिक लगानीसम्बन्धी विषयमा रास्वपाले संशोधन नहालेको उनले बताए ।
अर्थतन्त्रको आकार बढाउनुपर्ने र यसको लागि सुशासन हुनुपर्ने उनले बताए । सुशासन नहुँदा नेपालको जीडीपी आजका दिनमा कम्तीमा एक सय बिलियन डलरको अंकमा पुग्ने उनले बताए । पुरानो बजेट नै कार्यान्वयन नभएको भन्दै उनले यसबाट सिक्नुपर्ने बताए ।