श्रीमतीको हत्या गरेका पोखराका बरालले आफूले पनि गरे आत्महत्या

Image

पोखरामा एक पुरुषले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् ।

पोखरा महानगरपालिका १७ विरौटाका ५७ वर्षीय ऋषिराम बरालले कान्छी श्रीमती ३७ वर्षीया देवी पराजुली बरालको हत्यापछि आफूले पनि आत्महत्या गरेका हुन् । सोमबार दिउँसो झगडा भएपछि श्रीमती देवीमाथि धारिलो हतियार प्रयोग गरेका बरालले त्यसपछि मेडासिड नामक विषादी पनि खुवाएको पाइएको प्रहरीले जनाएको छ ।

श्रीमतीमाथि आक्रमण गरेपछि उनले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको छ । श्रीमतीको अनुहारमा र श्रीमानको घाँटीमा चोट लागेको अवस्थामा भेटिएका उनीहरुलाई तत्काल अस्पताल पुर्याइएपनि चिकित्सकले देवीलाई मृत घोषणा गरेको र बरालको उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वैदामका डीएसपी सन्तोष निरौलाले जानकारी दिए ।

स्थानीयका अनुसार बरालले तीन वर्षअघिमात्र देवीसँग दोस्रो बिवाह गरेका थिए । उनको जेठीतर्फबाट एक छोरा छन् । उनकी जेठी श्रीमती र छोरा पोखरा ५, मालेपाटनमा बस्दै आएका छन् । कान्छीतर्फबाट भने कुनै सन्तान भएका थिएनन् ।

पछिल्लो समय कान्छी श्रीमतीसँग पनि उनको सम्बन्ध राम्रो नभएको र दिनहुँ झगडा परिरहने बताउँछन् ।