प्रदीप नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखिने, विद्युतीय शवदाह गृहमा दाहसंस्कार

Image

पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको भए पनि परिवारले नेता नेपालको इच्छापत्रअनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धान्जलीका लागि नराखिने अडान राखेपछि यसअघिको निर्णयमा पुनरवलोकन गरिएको एमाले नेताहरूले जनाएका छन् ।

उपचारकै क्रममा केहीबेरअघि नर्भिक अस्पतालमा निधन भएका प्रदीप नेपालको आजै पशुपतिमा दाहसंस्कारको तयारी हुँदैछ । भतिजा महेश नेपालका अनुसार आजै साँझ विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्ने तयारी छ ।

त्यस्तै, प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि श्रद्धाञ्जली सभामा उपस्थित नहुने भएका छन् । उनको सचिवालयका अनुसार परिवारकै इच्छा अनुसार श्रद्धाञ्जली सभा नहुने भएपछि ओली अन्तिम संस्कारमा सहभागी नहुने भएका हुन् ।

एमालेमा कुनै बेला प्रभावशाली नेता रहेका नेपाल पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री थिए । त्यसपछि शिक्षामन्त्री पनि बनेका थिए ।