पाकिस्तानमा भारतीय आक्रमणबारे ट्रम्पले भने – यो दुःखद हो, तनाव चाँडै अन्त्य होस्

Image

भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई ‘दुःखद’ भन्दै भारत–पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।

नेपाली समयअनुसार बुधबार राति ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यो दुःखद हो। हामी अहिले भर्खरै यसको बारेमा थाहा पाउँदैछौं। मलाई लाग्छ, हुन सक्ने अनुमान पहिले नै थियो। उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’

उनको यो टिप्पणी भारतले पाकिस्तान प्रशासित कश्मीरमा गरेको हवाई आक्रमणको केही समयपछि आएको हो । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ।

भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।